भौतिक पुर्वाधार विकास मन्त्री अमरबहादुर थापालाई पदबाट बर्खास्त नगरेसम्म प्रदेश सभा चल्न नदिने प्रतिपक्षको अडान

२४ जेठ, सुर्खेत । कर्णाली प्रदेशको आठौ बैठकको पहिलो बैठकको सुरुवात मै एमाले कर्णाली प्रदेशका संसदीय दलका नेता यामलाल कडेलले बिरोध गरेका थिए । कडेलले फौजदारी अभियोग लागेका कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री अमरबहादुर थापालाई पदबाट बर्खास्त गर्न प्रतिपक्षी दल नेकपा एमालेले माग रहेको बताएका थिए ।् थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने समेत चेतावनी दिएको छ ।

नेता यामलाल कँडेलले ‘नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको, भन्दै प्रश्न गरेका थिए । उनले भौतिक पूर्वाधार विकास मन्त्री अमर थापालाई तत्काल बर्खास्त गरेर सदन चलाउने वातावरण निर्माण गर्न अनुरोध गरेका गरेका थिए । उनले सो माग गरेसँगै एमालेले संसद अवरुद्ध गरेको थियो ।

एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि सदन स्थगित गरेका थिए । त्यसपछि शाहीले पौने ६ बजे पुनः संसद सञ्चालन गरे । सदनमा उठेर एमाले सांसद करवीर शाहीले पनि सरकारले मन्त्री थापालाई नहटाएसम्म सदन चल्न नदिने बताएपछि सदन भोली जेठ २५ गते दिउसो दुई बजेसम्मका लागि स्थगित भएको छ ।

मन्त्री थापाले किर्ते जालसाजी मुद्दामा ‘जेल सजाय’ पाएको खुलेको छ । थापाले नारायण नगरपालिका–१ बस्ने भेषबहादुर थापाको मिलेमतोमा २०४३ माघ २५ गते घरजग्गाको किर्ते मूल्यांकन गरेको उनीविरुद्ध दर्ता गरिएको रिट निवेदनमा उल्लेख छ । रिटअनुसार सर्वोच्चले २०५७ असोज २ गते थापालाई ६ महिना कैद र २ हजार ५ सय रुपैयाँको अन्तिम फैसला गरेको थियो ।