सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि मंगलबार प्रदेशसभामा विश्वासको मत लिंदै

२४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले ओली पक्षीय सांसदहरुले समर्थन फिर्ता लिएको छ भने एमालेकै माधव पक्षीय सांसदहरुको समर्थनका साथै सरकारमा सहभागि समेत रहेको बेला मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि मंगलबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वास मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार मंगलबार विहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनेछन् ।

सुदूरपश्चिममा हाल नेकपा एमालेमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । ५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य रहेका छन् ।

विश्वासको मतका लागि मुख्यमन्त्रीलाई २७ जना प्रदेशसभा सदस्यको साथ चाहिन्छ । एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु हाल सरकारमा नै रहेको र एमाले संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । प्रदेशसभामा एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना जना छन् ।

ह्वीप जारी गर्न निर्देशन

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेशसभा संसदीय दलका नेता र सचेतकलाई मुख्यमन्त्रीको विपक्षमा मतदानका लागि सांसदहरुहलाई ह्वीप जारी गर्न निर्देशन दिएको छ ।

प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले दलका नेता प्रकाशबहादुर शाह र सचेतक दुर्गाकुमारी विकलाई पत्र लेखी पार्टीको स्थायी कमिटीको निर्णयअनुसार मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न निर्देशन दिएका छन् ।

१० जेठमा बसेको नेकपा एमालेको स्थायी कमिटिको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर प्रदेश संसदीय दलको १२ जेठमा बसेको बैठकले तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारमा रहेका एमालेका ३ जना मन्त्रीलाई राजीनामा दिन लगाएर एमालेकै ४ मन्त्री र ३ जना राज्यमन्त्री नियुक्त गरेका थिए । उनीहरु सबै एमालेको माधव पक्षका हुन् ।

स्थायी कमिटिको निर्णयको अवज्ञा गरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोधेका थिए । शाहले ओलीलाई स्पष्टीकरणको जवाफ पेश गरिसकेका छन् । यस्तै सरकारमा सहभागी अन्य मन्त्रीलाई समेत कारवाहीका लागि एमालेले प्रक्रिया अगाडि बढाइसकेको छ ।

नेपाली कांग्रेसले भोलि निर्णय गर्ने

मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदा पक्ष वा विपक्षमा मत दिने भन्नेबारेमा नेपाली कांग्रेस भने अनीर्णित रहेको छ । कांग्रेसले मंगलबार विहान ७ बजे बैठक बसेर निर्णय गर्ने संसदीय दलका नेता डा। रणबहादुर रावलले जानकारी दिए ।