लगातार दोस्रो वर्ष डी ब्रुयनालाई पीएफए वर्ष खेलाडीको उपाधि

प्रोफेसनल फुटबलर्स एसोसिएसनद्वारा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना लगातार दोस्रो सिजन वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । सिटीकै फिल फोडेन उत्कृष्ट युवा खेलाडी बने । सिटीलाई चार वर्षमा तेस्रो प्रिमियर लिगको उपाधि र काराबाओ कप दिलाउन दुवै खेलाडीको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

२९ वर्षीय डी ब्रुयना उत्कृष्ट पुरुष खेलाडी लगातार दुई वर्ष जित्ने क्रिस्टियानो रोनाल्डोपछि दोस्रो खेलाडी हुन् । ‘तपाईं टीमको रुपमा सबै उपाधि जित्न चाहनुहुन्छ, व्यक्तिगत रुपमा यो सबैभन्दा महत्त्वपूर्ण उपाधि हो,’ उनले भने, ‘तपाईंको प्रतिद्वन्द्वीहरुले तपाईंलाई चुन्नुले धेरै कुरा बयान गर्दछ ।’

बेल्जियमका खेलाडीले प्रिमियर लिगमा ६ गोल गर्नुका साथै १२ वटा गोलको अवसर सिर्जना गरेका थिए । गत २९ मेमा चेल्सीविरुद्ध च्याम्पियन्स लिगको फाइनलमा डी ब्रुयनाको आँखा र नाकमा चोट लागेको थियो । उनले सर्जरी गरेपछि सोमबार बेल्जियमको युरो कप टोलीसँग समावेश हुनेछन् ।

यता, २१ वर्षीय फोडेनले गत सिजन सिटीका लागि ५० खेल खेल्दै १६ गोल गरे । उनी इङ्ल्याण्डको युरो कप टोलीमा समावेश छन् ।