२३ जेठ, काठमाडौं । एमाले अध्यक्ष आज बेलुका ६ बुंदे एकताको प्रस्ताव फ्याकेपछि एमाले माधव समूहका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको र संसद विघटन गरेकोप्रति आत्मालोचना गर्नुपर्ने बताएका छन् । ओलीले आत्मालोचना गरेर माफी नमागेसम्म उनीसँग सम्झौता हुन नसक्ने खतिवडाको भनाइ
छ ।
केपी ओलीले आफूहरुलाई ‘गिनी पिग’ बनाउन खोजेको खतिवडाले बताए ।
माधव नेपाल पक्षका हार्डलाइनर नेताका रुपमा चिनिने खतिवडाले भने, ‘केपी ओली समूहसँग आदर्शको मृत्यु भइसकेको छ । आत्मसम्मानयुक्त राजनीतिक वातावरणमा सँगै मिलेर काम गर्न सकिने अवस्था छैन ।’
माधव नेपाल पक्षका नेता खतिवडाले अहिले केपी ओलीसँग चलिरहेको अन्तर संघर्षबारे यसरी विश्लेषण गरेका छन् ः
हामी चारजना म, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले स्थायी कमिटी सदस्यहरुलाई एक ध्यानाकर्षण पत्र प्रेषित गरेका गरेका छौं । अन्त्यहीन विवाद, उद्देश्यहीन गति र लक्षहीन प्रहारबाट हामी सदैव बच्नुपर्छ । आजको अलमल यही नै हो ।
केपी ओली समूहसँग आदर्शको मृत्यु भइसकेको छ । आत्मसम्मानयुक्त राजनीतिक वातावरणमा सँगै मिलेर काम गर्न सकिने अवस्था छैन । डीएनए टेस्ट गरेर मात्र अवसरहरूको बाँडफाँट गर्ने उनको प्रवृत्ति छ । त्यहाँ छोटो समयमा हाम्रा पक्षका कार्यकर्ताहरूले सौहार्दपूर्ण अनुकुलताको सिर्जना हुने अवस्था देखिँदैन ।
पार्टीभित्र रहेको यही प्रवृत्ति र व्यवहारले यो सुध्रिने आशा पनि नरहेकाले एकता संभव नहुने कुराको प्रष्ट संकेत गरेको
छ । तथापि अन्तर संघर्षको यो चरणमा निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।
१.सर्वोच्च अदालतको सन्दर्भलाई आन्तरिक एकताको विषयमा समावेश गर्न हुँदैन । यो कुनै सहमति पूर्व सर्तका रुपमा हुनुहुँदैन ।
२.वार्ताको ढोका खुला राख्ने तर सबै तहका कमिटीहरु गठन गर्दै नयाँ पार्टी स्थापना गर्ने तयारीलाई निरन्तरता दिनुपर्छ ।
३. वार्ताको पूर्व सर्तका रुपमा झलनाथ खनाल, माधव नेपाल र अरु नेताहरुको कार्वाही फिर्ता र गर्ने र अपमानजनक अभिव्यक्तिहरूलाई बन्द गर्न लगाउनुपर्दछ ।
४. वार्तामा निम्न कुराहरुलाई बटमलाइन बनाउनुपर्छ–
– २०७५ जेष्ठ २ पूर्वको आधार समयलाई मुख्य बुँदा मानेर जेष्ठ २ को वरपर, सेरोफेरो भन्ने भ्रममा नपरी मागहरुलाई पूरा गराउनुपर्छ । वास्तवमा जेष्ठ २ को मागको औचित्य कमजोर भइसकेको छ ।
– केपी प्रधानमन्त्री हुने नै हो भने माधव नेपाललाई पार्टी अध्यक्ष बनाउनुपर्दछ ।
– सबै तहका निर्वाचन प्रयोजनहरुका लागि सबै तहमा हाम्रो सहितको संयुक्त आधिकारिक हस्ताक्षर प्रमाणित गरिनुपर्दछ ।
– पूर्वमाओवादीवाट आएकालाई समावेश गर्ने कुरामा सहमति गरिनुहुँदैन । केही गरी समावेश गर्ने स्थिति आउन लागेमा त्यति नै संख्यामा हाम्रो तर्फबाट केन्द्रीयमा मनोनयन गरिनुपर्छ र त्यसका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाइनुपर्छ ।
५.वार्तामा केही महत्वपूर्ण सैद्धान्तिक प्रश्नहरुका बारेमा प्रष्टता प्राप्त गर्न आवश्यक छ ।
६. महाधिवेशन गर्ने विषयमा चर्चा गर्नुपर्दा महाधिवेशनको स्वच्छता, निष्पक्ष र भयरहितताको मोडालिटीका बारेमा डिटेल सम्झौता गर्न जरुरी छ ।
७.सम्झौताहरूको पालना नहुँदा यसको जवाफदेहिता कसले, कसरी लिनेछ भन्ने प्रष्ट ब्यवस्था हुनुपर्दछ ।
८.आजसम्मको संविधान, पार्टी, विधान, अनुशासन र हामीमाथि गरेका ज्यादती र संसद विघटनबारे केपी ओलीले आत्मालोचना गर्नुपर्छ ।
९. हाम्रो विचार, नीति, अडान र संघर्षशीलताले नै नयाँ आधारमा नयाँ एकता गर्न वातावरण निर्माण गर्न सक्छ । हामीचाहिँ सम्झौतापरस्त किन हुने ? । केपी ओली हामीलाई गिनिपिग बनाउन चाहान्छन् । यस्तो भ्रममा नपरौं ।
१० .केपी ओलीले आजसम्म गरेका जनघाती, गैरसंवैधानिक कार्यहरु र गलत सरकारी निर्णय र नियुक्तिहरु सच्याउने लिखित प्रतिवद्धता आउनुपर्छ ।