नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा,एकैदिन १७ अर्बभन्दा बढीको कारोबार

२३ जेठ, काठमाडौं । नेपाली सेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै माथिल्लो बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक २९०६.९१ अंकमा पुगेर रोकिएको छ । आज नेप्से परिसूचक २९२०.९१ विन्दुमा पुगेर तल फर्किएको हो ।

आज बजार ५०.१४ अंकले बढेको छ । यो १.७६ प्रतिशत वृद्धि हो । आज बैंकिङ परिसूचकले बजारलाई नेतृत्व ग¥यो, यसको प्रभाव समग्र परिसूचकमा परेको हो ।

५० अंकले वृद्धि भएको दिन समेत कुल ६ वटा समूहको मूल्यमा भने गिरावट आएको छ । आज बैंक, विकास बैंक, वित्त, लघुवित्त, म्यूचअल फण्ड, लगानी र अन्य समूहको परिसूचक बढेको छ । तर, व्यापार, होटेल र पर्यटन, जलविद्युत, निर्जिवन बीमा, निर्माण तथा उत्पादन र जीवन बीमा समुहको परिसूचक भने घटेको छ ।

आज कुल २१८ कम्पनीको १ लाख ७१ हजार ६० कारोबार भएको छ । कारोबार भएको सेयर संख्या ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ रहेको छ । आज कुल कारोबार रकम भने १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५ सय २५ पुगेको छ ।