ट्रेन्ट आर्नोल्ड घाइते, युरोकप गुमाउने

थाईमा देखिएको चोटका कारण ट्रेन्ट अलेक्स्यान्दरआर्नोल्डले युरो २०२० गुमाउने भएका छन् । लिभरपुलका यी फुलब्याक कम्तिमा चारदेखि ६ सातासम्म मैदानबाहिर रहनेछन् ।

इङल्यान्डले अस्ट्रियाविरुद्ध १–० को जित हासिल गरेको मैत्रिपूर्ण खेलमा आर्नोल्ड घाइते भएका थिए । बिहीबार चोटको स्क्यान गरेपछि उनले प्रतियोगिता गुमाउने पक्का भएको हो ।

लिभरपुलले पनि विज्ञप्ति जारी गर्दै आफ्ना खेलाडी घाइते भएको जनाएको छ । चोटमुक्त भएपछि मात्रै अर्नोल्ड खेलमा फर्कने विज्ञप्तिमा उल्लेख छ । २२ वर्षीया आर्नाेल्ड सन् २०१८ देखि नियमित रुपमा टोलीमा समावेश छन् ।

इंलिस प्रशिक्षक ग्यारेथ साउथगेटले युरोकपका लागि सार्वजनिक गरेको २६ सदस्यीय टोलीमा आर्नोल्डसहित चार जना राईटब्याक थिए । केइरन ट्रिपर, रेसी जेम्स र केल वाल्कर अन्य तीन राईट ब्याक हुन् । अर्नोल्डले इङल्यान्डका लागि १३ खेल खेल्दै एक गोल समेत गरेका छन् । उनी २०१८ को विश्वकपमा टोलीमा पनि थिए ।