Breaking News

निषेधाज्ञा खुलुलो भन्दै सडकमा बाक्लो सवारी साधन प्रहरीद्धारा अत्यावश्यक सेवाका बाहेक सवारीलाई होल्डिङ सेन्टरमा

२१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि १० दिनको लागि थप गरी खुकुलो गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी चहलपहल धेरै देखिएको छ ।

सवारी साधन सञ्चालन सम्बन्धी व्यवस्थामा परिवर्तन नगरिएको भएपनि शुक्रबार उपत्यकाका सडकमा पहिलेभन्दा धेरै सवारी चलेको ट्राफिक प्रहरीले जनाएको छ ।

निषेधाज्ञा खुकुलो भयो भन्ने भ्रमका कारण पनि सवारी धेरै भएको प्रहरीको आकलन छ । प्रहरीले भने अत्यावश्यक सेवाका बाहेक अन्य सवारीलाई रोकेर होल्डिङ सेन्टरमा राखेको छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले निषेधाज्ञा खुकुलो भयो भन्ने आम धारणाका कारण सडकमा धेरै भिड बढेको हुन सक्ने बताए । कोभिडको जोखिम कम नभएकोले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भइरहेको उनले जानकारी दिए ।

निषेधाज्ञा कार्यान्वयन गराउनको लागि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकिङ गर्दै आएको छ । कोरोना संक्रमणका कारण भिडभाड गर्न बन्देज भए पनि प्रहरीको चेकिङ स्थलमा भने सवारी साधन र तिनका चालकहरूको भिड देखिन्छ ।