महन्थ र राजेन्द्रलाई अन्तिम २४ घन्टे अल्टिमेटम चिक्तबुझ्दो उत्तर नआए पार्टीबाट निस्कासन

१५ जेठ, काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) फुटको अन्तिम संघारमा रहेको छ । प्रधानमन्त्री ओलीले गएको बैशाख २७ गते लिएको विश्वासको मत संगै तथष्ट बसेको जसाप महन्थ-राजेन्द्र पक्षलाई जसपाको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई भट्टराई–यादव पक्षले स्पष्टीकरण सोधेको हो ।

जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहितका नेताहरूलाई जसपाको बहमुत पक्षले जेठ ११ गते ७२ घण्टे स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणको जवाफ नआएपछि चारै जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको यादव–भट्टराई पक्षको भनाइ छ ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा भट्टराई–यादव पक्षमा ३० जना रहेका छन् ।

नयाँ सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्ने विवाद हुँदा जसपामा दुई धार देखिएको हो ।

जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो वर्तमान प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा छ भने भट्टराई–यादव पक्ष ओलीको बहिर्गमनको पक्षमा छ ।