ओली सुदूरपश्चिम एमालेद्धारा ६ मन्त्रीलाई स्पष्टीकरण

१५ जेठ, धनगढी । नेकपा एमाले भित्रको विवादले सुदूरपश्चिम प्रदेशमा उग्र रुप लिएको छ । एमाले अध्यक्ष ओली पक्ष सुदूरपश्चिम प्रदेश कमिटीले माधव पक्षीय ६ जना मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । हिजो मात्र नियुक्त भएका तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको हो ।

ओली पक्षले बनाएको प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय विपरित मन्त्री बनेको भन्दै स्पष्टीकरण सोधेको हो । मन्त्री बन्नु र विपक्षीसँग साँठगाँठ गर्नु जघन्य अपराध भएको भन्दै स्पष्टीकरणमा किन कारबाही नगर्ने २४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।

ओली पक्षका नेताहरु मात्र भएको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर नेता माधवकुमार नेपाल समूहको बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन फिर्ता नलिने निर्णय ग¥यो ।

एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिंदा दीर्घबहादुर सोडारी भौतिक पूर्वाधार, लालबहादुर खड्का समाजिक विकास, पूर्णा जोशी आन्तरिक मामिलामन्त्री बनेका थिए भने चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद राज्यमन्त्री नियुक्त भएका थिए ।

सुदूरपश्चिम कमिटीले संसदीय दलका नेता शाहलाई यसअघि नै स्पष्टीकरण सोधेर कारबाही गर्न सिफारिस गरेको थियो ।