गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइराला, प्रचण्ड र माधवकुमार नेपाल महानायक हुन्

एमालेमा मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो

नेता, बामदेव गौतम
१५ जेठ काठमाडौं । आज गणतन्त्र दिवस । नेपाल गणतन्त्र आएको १४ वर्ष भयो तर पनि जनताको घरदैलोमा भने गणनन्त्र आएको अझै भान भएको छैन । गणतन्त्रले निरंकुश शासन राजतन्त्रलाई हटाएर जनताको छोराछोरी नै राष्ट प्रमुख हुन पाउने अधिकार राष्ट्पति भए पनि उही जनताको सन्तान राष्ट्को प्रमुख भएपनि उसैले संविधानको पालना नगरी पटकपटक समाप्त पार्ने कोशिस गरिदै गर्दा आज मुलुकभरमा १४औं गणतन्त्र दिवस मनाइदै रहेको बेला एमालेका उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेको केन्द्रीय कमिटीमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको बताएका छन् ।

पार्टीमा गणतन्त्रको प्रस्ताव राख्दा तीनजना नेताहरु विपक्षमा उभिएको नेता गौतमले बताएका छन् । १४ औं गणतन्त्र दिवसका अवसरमा नेता गौतमले एमालेभित्रका गणतन्त्र विरोधी नेताहरुको स्मरण गरेका हुन् । तथापि उनले ती नेताहरुको नाम भने लिएका छैनन् ।

‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो’ एमाले नेता गौतम भन्छन्, ‘त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’ गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र प्रचण्डले भूमिका खेलेको भन्दै नेता गौतमले तीनै नेतालाई महानायकका रुपमा सम्झेका छन् ।

‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाल ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो,’ गौतम भन्छन्, ‘उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु, दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ ।’ साथै नेता गौतमले १४ औं गणतन्त्र दिवसको अवसरमा सबै शहीदहरुलाई सम्झदै श्रद्धाञ्जली र सम्मान प्रकट समेत गरेका छन् ।