सभामुख अग्निप्रसाद सापकोटालाई संविधान तथा कानुनका जानकारहरुको सुझाव : कसैले सक्रिय हुन र कसैले सर्वोच्वको निर्णय पर्कन सुझाव

१३ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनका विषयमा आज संसद भवन बानेश्वरमा संविधान तथा कानुनका जानकारहरुसँग छलफल गरेका छन् ।

छलफलका क्रममा संविधानविदहरुले सभामुखले दुईथरि सुझाव दिएका छन् । कसैले सर्वोच्च अदालतको फैसला पर्खिनेबाहेक केही गर्न नमिल्ने सुझाव दिए भने कसैले सक्रिय हुन सुझाव दिए । सक्रिय हुन सुझाव दिनेले राष्ट्रपतिलाई पत्र लेख्न र संसदको पक्षमा जनमत सिर्जना गर्न सुझाव दिए ।

संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले सभामुख संविधान र कानुन अनुरुप चल्नुपर्ने र संसदमार्फत् हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने सुझाव दिए ।

संविधानविद् टीकाराम भट्टराईले संविधानले सभामुखलाई पनि विशेष अधिकार दिएको उल्लेख गर्दै सोही अधिकारका आधारमा संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नसक्ने सुझाव दिएका थिए ।

यसअघि नै सर्वोच्च अदालतले कोही व्यक्तिको लहड र सनकमा प्रतिनिधि सभा विघटन गर्न नसकिने फैसला गरिसकेकाले सर्वोच्चको सोही आदेश अनुसार पनि प्रतिनिधि सभा विघटन हुन नसक्ने उनको भनाइ छ ।

संविधानविद् भीमार्जुन आचार्यले गत पुसमा प्रतिनिधिसभा विघटनपछि पुनर्स्थापना हुँदा पनिसंसद र प्रतिपक्षी मुकदर्शक बनेको तथा जालझेल र षड्यन्त्रलाई रोक्न नसकेको टिप्पणी गरे । उनले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म कानुनी र संवैधानिक रुपमा सभामुखले केही गर्न नसक्ने सुझाव दिए ।

पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले संसद जिवित छ भन्ने देखाउन सभामुखले आफ्नो सक्रियतालाई बढाउनुपर्नेमा उनले जोड दिए ।

नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले सभामुखले संविधानको पालना र संरक्षण गर्नेबाहेक कुनै काम गर्नु नहुने सुझाव दिए । सभामुखले यस्तै किसिमका अन्तर्क्रिरया गरेर जनतालाई सुसूचित गराउन ध्यान दिनुपर्ने उनले बताए ।

राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले बहुमत सांसदहरुले प्रतिनिधि सभा हामी चलाउन चाहन्छौँ भनी हस्ताक्षर नै गरिसकेपछि विघटन गर्न नपाइने बताए । सभामुखसँग संसदको पक्षमा जनमत सिर्जना गर्नुपर्ने उत्तरदायित्व रहेको उनले औंल्याए ।

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संविधानको धारा ७६ प्रधानमन्त्री र राष्ट्रपतिका बीचमा हुने काम कारबाही नभएको बताए । यस सम्बन्धमा सभामुखले सम्पूर्ण कुरा लेखेर राष्ट्रपतिलाई दिनुपर्ने उनले सुझाव दिए ।

सभामुखले बहुमत सांसदहरुको बैठक पटक पटक बसालेर त्यसको सम्पूर्ण कुराहरु राष्ट्रपतिलाई पठाउँदै जानुपर्ने र जनतालाई सुसचित गर्दै जानुपर्ने विडारीको भनाइ छ ।

संविधानअनुसार चल्छु : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले कानुनविदसँगको छलफलले आफूलाई सहयोग पु¥याएको बताए । उनले संविधान र प्रतिनिधि सभाको नियमावली अनुसार नै आफू चल्ने जानकारी दिए । राजनीतिक पार्टीहरुमा नै जनताको शक्ति केन्द्रित भएर अभिव्यक्त हुने भएकाले आफूले राजनीतिक पार्टीहरुसँग छलफल गर्ने पनि सभामुख सापकोटाले बताए ।

आफुहरु प्रतिनिधि सभा सञ्चालनमा दत्तचित्त भएर लागिरहेको उल्लेख गर्दै सभामुख सापकोटाले देश अध्यादेश बाट चलाउन खोजिएको प्रति असन्तुष्टि पनि व्यक्त गरे ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको र प्रतिनिधि सभाको अधिकारको हनन भएको पनि सभामुख सापकोटाले उक्त अबसरमा बताएका थिए ।