अमेरिकामा बासोबास गर्ने नेपाली कामविहीन बन्दै, बेरोजगार भत्ता फारम भर्नेको लर्को

२७ चैत, न्युयोर्क । कोरोना भाइरसले अमेरिकामा मर्ने संख्या बढ्दै गएपछि त्यहाँस्थित पछिल्लो दुई हप्तामा १ करोड अमेरिकीले बेरोजगारी भत्ताको फर्म भरिसकेका छन् । अमेरिकाको अर्थतन्त्र कता गइरहेको छ भन्ने कुरा यसबाट नै स्पष्ट हुन्छ ।
कोरोना भाइरसका कारण अहिले अमेरिकाभरि व्यापार व्यवसाय ठप्पजस्तै हुँदा धेरै कम्पनीहरुले कर्मचारी कटौती गर्न थालेका छन् । यसबाट नेपाली समुदाय पनि अछुतो छैन ।
७ महिनादेखि मिनेसोटा राज्यको एक कम्पनीमा फूलटाइम पेड इन्टर्नशीप गरिरहेकी २१ वर्षीया स्रष्टा कोइराला कामबाट एक्कासी निकालिँदाको पीडा पोख्दै भन्छिन्, ‘एकदमै नरमाइलो लाग्यो । तर, पछि आफू मात्र नभई धेरैलाई यसरी कामबाट निकालेको रहेछ भन्ने थाहा पाएपछि भने चित्त बुझाएँ ।
कोरोनाका कारण जागिरमात्र होइन, स्वरोजगारीमा पनि असर परिरहेको छ । न्युयोर्क राज्यमा उबर ट्याक्सी चलाएर जीविकोपार्जन गरिरहेका ४१ वर्षे जीवननाथ कँडेल एकदमै निराश देखिन्छन् ।
‘एक महिना भो, काम गर्न नपाएको’
यो पेशा उनको श्रीमती र २ छोराहरुको पालनपोषण गर्ने एकमात्र आयस्रोत हो । तर, उनी अहिले घरबाट बाहिर निस्कने अवस्था छैन ।
‘यो अवस्था लम्बिँदै गयो भने साँच्चै नै गाह्रो हुन्छ,’ यता अमेरिकी केन्द्रीय सरकारले कोरोना भाइरसका कारण रोजगार गुमाएका र स्वरोजगारी गर्नेहरुका लागि भनेर ४ महिनाका लागि हप्ताको ६०० डलर राहत प्याकेज ल्याएको छ । यसका अलवा, राज्य सरकारबाट पनि उनीहरुले बेरोजगारी भत्ता पाउँछन् ।
नेपालीहरुलाई आर्थिक रुपमा राहत दिने उद्देश्यले न्युयोर्कस्थित नेपाली व्यवस्थापनमा सञ्चालित एभरेष्ट फेडरल क्रेडिट युनियनले नेपाली समुदायलाई सहयोग पुगोस् भनेर २ हजार डलर निर्ब्याजी ऋण दिइरहेको छ ।
‘एक महिनाका लागि ब्याज तिर्नुपर्दैन र त्यतिभित्र तिर्न नसके १८ महिनाको किस्ताका रुपमा परिणत गरेर सहज बनाएका छौं’ युनियनका कार्यकारी निर्देशक विराज रिजालले भने ।
यतिखेर अमेरिकाभर नै एकदमै अन्योलको अवस्था छ । कोरोनाका कारण ज्यानको जोखिम त छ नै, त्यसमाथि आर्थिक तनाव बढ्दै जाने पनि देखिएको छ ।
न्युयोर्क शहरमा रहेका नेपालीहरुलाई सहयोग पुयाउन फेसबुक समूह बनाएर अग्रसर भइरहेका एक सामाजिक अगुवा यादव बास्तोलाका अनुसार यही अवस्था लम्बिँदै गयो भने नेपाली समुदायमा यसले ठूलोे आर्थिक संकट निम्त्याउँछ ।
‘विशेष गरी ज्यालादारी काम गर्ने नेपालीलाई गाह्रो छ’ उनले भने, ‘भएको केही बचत रकम पनि धेरैले नेपाल पठाउने भएकाले यो समस्या लम्बिँदै गयो भने नेपालीहरु धेरै प्रभावित हुने देखिन्छ ।