एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको निर्णय : प्रदेश सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

१२ जेठ, धनगढी । नेकपा एमाले ओली पक्षको स्थायी कमिटी बैठकले केन्द्रको निर्णय भन्दै नेकपा एमालेको सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता र सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएपछि त्यसपछि बसेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

ओली पक्षको स्थायी कमिटीलाई चुनौती दिंदै सुदूरपश्चिम प्रदेश एमालेको संसदीय बैठकले समर्थन फिर्ता नलिने निर्णय गरेपछि माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारको संकट टरेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद छन् । आजको बैठकमा २१ जना सहभागी थिए ।

सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छन् । सबभन्दा ठूलो दल एमालेका २५, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) का २ जना प्रदेशसभा सदस्य छन् ।