कोभिड– १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोज्या

नेपाली कांग्रेस

१२ जेठ, काठमाडौं । नेपाली कांगेसको आज बिहान बसेको पदाधिकारी बैठकले कोरोना महामारीको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड– १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री ओलीले आफ्ना अवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पूरा गर्नका लागि कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर बैठकले गरेको छ । बैठकपछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै सहमहामन्त्री प्रकाशशरण महतले कोभिडका नाममा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने कोसिसमा सरकार अघि बढेको बताए ।

उनले कोभिड संक्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने सरकारका क्रियाकलापको बैठकले घोर भर्त्सना गरेको बताए ।

‘सरकार कोभिड संक्रमलाई रोकथाम गर्न भन्दा पनि यसका आडमा राजनीति गर्न खोज्दै छ । जनतामा आतंक फैलाउन खोज्दै छ । २ दिनभित्र किनमेल गर भन्ने किसिमका कुराहरु गर्दैछ । सरकारको आशय अहिले पनि अक्सिजन, अस्पताल बेडको सुनिश्चितता संगै दुर्गम गाउँ गाउँमा पिसिआर परीक्षण गर्ने, संक्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पछि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने कोशिस सरकारबाट भइरहेको छ ।
महामारीमा जनताको दैनिकी असहज भइरहेका बेला सहयोगी भूमिका निर्वाह गर्नुभन्दा सरकार जनअधिकारलाई निषेध गर्ने र अवैधानिक बाटोलाई वैध बनाउने बाटोमा लागेको भन्दै बैठकले त्यस कार्यको निन्दा एवं भर्त्सना गरेको नेता महतले जानकारी दिए ।

कांग्रेसले उपचार नपाएर र अक्सिजन नपाएर कोभिड संक्रमितहरुको ज्यान गइरहेको तथा दुर्गम लगायत क्षेत्रमा कोरोना परीक्षण हुन नसकिरहेका बेला उपचार, रोकथाम र राहततर्फ केन्द्रित हुनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । तत्काल सडकमा उत्रिने अवस्था नरहेकाले संञ्चार, सामाजिक सञ्जाल, नागरिक समाज लगायत मार्फत निरन्तर रुपमा राष्ट्रपति र सरकारको असंवैधानिक कदमविरुद्ध लाग्नुको साथै कानूनी र राजनीतिक लडाईलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।