एम्बुलेन्सबाट १ सय किलो गाँजा बरामद

११ जेठ,काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२ बाट प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट १ सय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।

एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभूमि गाउँपालिका घर भएका २८ वर्षीय पोशन राई छन् ।

धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्सको पछाडि सो परिमाणको गाँजा फेला परेको थियो । उनीहरुलाई लागूऔषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।