कसरी बाँडिदैछ राहत, सही पिडितले पाउलान त राहत ?

कदर समाचार
२७ चैत, काठमाडौं । कोरोना भाइरसका कारणले लकडाउन भएपछि बिपन्न परिवार र ज्यालादारी गरेर खाने परिवारमा पेट पाल्न नै गाह्रो भएपछि अहिले स्थानीय तहहरुले धमाधम कोरोनाबाट प्रभावित विपन्न परिवारलाई राहत वितरण गरिरहेका छन् । काठमाडौं उपत्यकामा पनि राहत वितरणको काम चलिरहेको छ । तर, काठमाडौं र ललितपुर दुबै महानगरपालिकाले विपन्न परिवारमा राहत र्पुयाउन ढिलाइ गरिरहेका छन् ।
राहत वितरणमा काठमाडौं महानगरपालिका तुलनात्मक रुपमा ललितपुरभन्दा अगाडि देखिएको छ । बूढानीलकण्ठ र चन्द्रागिरी नगरपालिका पनि सक्रिय नै छन् । काठमाडौं जिल्लाका अन्य नगरपालिकाहरुमा राहत पाउने विपन्न घरपरिवार पहिचान गर्न ढिलाइ भएको छ ।
ललितपुर महानगरपालिका भने अझै पनि राहत वितरणको काम गर्ने चाँजोपाँचो मिलाउमै व्यस्त छ ।
काठमाडौंमा २८ हजार परिवारमा राहत
काठमाडौं महानगरले तथ्यांकमा समेटेका परिवारमध्ये ७५ प्रतिशतभन्दा बढीलाई राहत सामग्री दिइसकेको छ भने ललितपुरले भोलिबाट विभिन्न परिवारलाई राहत वितरण थाल्ने योजना बनाएको छ ।
काठमाडौं महानगरपालिकाले ‘कोरोना भाइरस (कोभिड(१९) सम्बन्धी राहत वितरण मापदण्ड(२०७६’ स्वीकृत गरेरै साहत बाँडिरहेको छ ।महानगरपालिकाको ४३औं कार्यपालिका बैठकले स्वीकृत गरेको मापदण्डअनुरुपका ३५ हजार २ सय परिवारले राहत बुझ्नुपर्ने देखिएको सहसचिव राजेश्वर ज्ञावालीले जानकारी दिए ।
त्यसमध्ये बुधबारसम्म महानगरपालिकाले बुधबार २८ हजार परिवारलाई वितरण गरेको बताएको छ । २८ हजारमध्ये ६ हजार परिवारलाई विभिन्न संघसंस्थाले राहत वितरण गरेका हुन् ।
‘२२ हजार परिवारलाई हाम्रा वडा कार्यालयहरुले राहत काँडेका हुन्,’ सहसचिव ज्ञावालीले भने,’हामीले सकेसम्म छिटो सबै परिवारकोमा राहत र्पुयाउन प्रयत्न गरेका छौं ।
काठमाडौंले महानगरपालिकाभित्र बसोबास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु खाना, खाजा नपाएकालाई रहात वितरण गर्न सकिने मापदण्ड बनाएको छ ।
मापदण्ड अनुसार अभिभावक नभएका, आफ्नो आय स्रोत नभएका, अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिदजस्ता आश्रमस्थलमा रहेका, अरुको सहयोग एवं सहारामा बाँचेका असहाय व्यक्तिले राहत पाइरहेका छन् ।
त्यस्तै, आम्दानीको स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न धौ(धौ भएका र सम्बन्धित वडाले अति विपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई राहत वितरण भइरहेको महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिकाले बुधबारसम्म १९ हजार ४७३ परिवारलाई राहत पाउनेको सूूचीमा राखेको छ ।
लकडाउनपछि शहरी क्षेत्रका सडकमा मागेर गुजारा गर्नेहरुलाई खाना खुवाउने प्रवन्ध गरे पनि प्रभावित परिवारलाई राहत वितरण सुरु नभएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।
स्थानीय तहमा देखिएको अलमल, फरक–फरक मापदण्ड
सरकारले राहत वितरणमा सम्बन्धित स्थानीय तहलाई नै जिम्मेवार बनाएको छ । तर, काठमाडौंकै स्थानीय तहहरु विपन्न र गरिब परिवारको पहिचान गर्न मात्रै हैन, राहत सामग्री किन्न र वितरण गर्न पनि अल्मलिएका छन् ।
कतिपय स्थानीय तहलाई सरकारी मापदण्ड अनुसार राहतको आर्थिक स्रोत व्यवस्थापन गर्न नै समस्या भएको छ । जसका कारण प्रभावित परिवारलाई पर्याप्त राहत नै दिन नसकिने अवस्था आएको स्थानीय तहहरु बताउँछन् ।
स्थानीय तहलाई आर्थिक समस्या परेपछि सीमा जोडिएका तहहरुमा नै राहतको परिमाण फरक परेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव बसन्त अधिकारी स्थानीय तहले सकेसम्म स्थानीय विपद व्यवस्थापन कोषको रकम खर्चिएर राहत बाँड्नुपर्ने बताउँछन् । उनले हुँदा खाने वर्गलाई जतिसक्दो छिटो राहत र्पुयाउन स्थानीय तहलाई निर्दे्शित गरिएको बताए ।
काठमाडौं र ललितपुर महानगरपालिकाले फरक(फरक परिमाणमा राहत वितरण गर्दैछन् । तर, काठमाडौं महानगरले सरकारको मापदण्ड अनुरुपको राहत वितरण गर्दैछ भने ललितपुरले सरकारले भनेअनुसार वितरण गर्न आर्थिक स्रोत अपुग भएको बताएको छ ।
ललितपुरले राहत बाँड्न आफ्नै मापदण्ड नबाएको छैन । तर, अर्थमन्त्रालयले जारी गरेको ‘राहतसम्बन्धी मापदण्ड’ लाई पछ्याइएको प्रवक्ता महर्जनले जानकारी दिए । सो मापदण्ड अनुसार ललितपुरमा दैनिक रुपमा कामकाज गरी पटके वा दैनिक ज्याला आम्दानी गर्ने श्रमिक, कामदार र मजदुरलाई राहत वितरण गरिने उनले बताए ।
असहायका रुपमा कसैको लालन–पालनमा नरही, आवासविहीन भई मन्दिर, आश्रम, धर्मशाला, गुम्बा, मस्जिद, गुरुद्वार, चर्च वा वृद्धाश्रममा बस्ने मानिसलाई तोकिएको छ ।
पसलबाट ग्राहकको घरसम्म सामान ओसार पसार गर्ने श्रमिक, पर्यटक भरिया, निर्माण सामग्री भरिया, सवारी साधन बाटोमा अत्यावश्यक वस्तु ओसार पसार गर्ने व्यक्तिले राहत पाउनेछन् । ट्रक, टिपर, भ्यानमा सामान लोड अनलोड गर्ने श्रमिक, अन्य व्यक्तिको खेतमा दैनिक ज्याला लिनेगरी काम गर्ने कृषक, मजदुर र आफ्नो नातेदार बाहेक व्यक्तिको परिवारमा दैनिक ज्यालादारीमा सरसफाइ, शिशु, तथा जेष्ठ नागरिक स्याहार जस्ता सेवा गर्ने व्यक्तिले समेत राहत पाउने ललितपुर महानगरपालिकाले जनाएको छ ।
गिटी कुट्ने, बालुवा चाल्ने तथा इँटाभट्टामा काम गर्ने मजदुर र निर्माण कार्यमा दैनिक ज्यालादारीमा काम गर्ने डकर्मी, सिकर्मी, हेल्पर लगायतका मजदुरलाई समेत राहत पाउने सूचीमा राखिएको छ । नाङ्लो पसले, दैनिक रुपमा पत्रिका वितरक, साना फुटपाथ पसले, ठेला गाडा तथा साइकलमा सामान बेच्ने व्यक्ति र अन्य व्यक्तिको पसलमा काम गर्ने मजदुरलाई समेत लाभग्राहीको सूचीमा समावेश गरिएको छ ।

मापदण्ड अनुसार अन्य व्यक्तिको मालबाहक सवारी तथा डेलिभरी भ्यान तथा रिक्सा वा ठेला चलाउने चालक र सहचालकलाई सूचीमा समावेश गरिएको छ ।
दैनिक ज्यालामा ट्याक्सी वा टेम्पो चलाउने चालकसमेत यसमा राखिएको छ । सवारी साधनको मर्मत सम्भार गर्ने ग्यारेजमा काम गर्ने मिस्त्री र मजदुरको समेत विवरण राखी राहत वितरण गर्ने भनिएको छ ।
अन्य व्यक्तिको गार्मेन्ट, कार्पेट, टेलरिङ, गलैँचा बुट्टा तथा जर्ती भर्ने र कपडा पसलमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई समेत राहत दिने भएको छ ।
यसरी संकलन भएका विवरणका आधारमा श्रमिक तथा असहाय वर्गलाई राहत वितरण गरिने महानगरपालिकाले जनाएको छ ।
ललितपुरले बहिीबारबाट राहत वितरण सुरु हुने दावी गरेको छ । साल्ट ट्रेडिङसँग खाद्यान्न किनेको ललितपुरलाई प्याकिङमा मसस्या परिरहेको प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
‘साल्ट ट्रेडिङले प्याक गरेर दिन ढिलाइ र्गयो, अब प्याकिङको काम वडा वडामै लगेर स्वयमसेवकमार्फत प्याकिङ गरेर वितरण गर्छौं,’ उनले भने ।
सरकारले स्थानीय तहहरुलाई प्रतिपरिवार चामल ३० किलो, दाल तीन किलो, नुन दुई प्याकेट, खाने तेल दुई लिटर र चिनी दुई किलो गरी राहत बाँड्न भनेको थियो । एक परिवारमा दुई जना मात्र भएमा राहत सामग्रीको आधार र सोभन्दा बढी सदस्य भएमा भने पूरै राहत पाउने गरी मापदण्ड बनाइएको छ ।
काठमाडौं महानगरपालिकाले २ जनासम्म सदस्य रहेको परिवारलाई १५ केजी चामल, १.५ केजी दाल, एक प्याकेट नुन, १ लिटर खाने तेल, १ केजी चिनी र एउटा सावुन राहत स्वरुप वितरण गर्दैछ । ३ जना वा सो भन्दा बढी सदस्य भएका परिवारलाई काठमाडौं महानगरले ३० केजी चामल, ३ केजी दाल, दुई प्याकेट नुन, २ लिटर खाने तेल, २ केजी चिनी र चारवटा सावुन वितरण गर्दैछ ।
ललितपुर महानगरपालिकाले भने सरकारी मापदण्ड अनुरुप वितरण गर्दा ठूलो खर्च हुने देखिएको भन्दै राहतको परिमाण घटाएको छ । २ जनासम्म सदस्य भएको परिवारलाई ५ केजी चामल, १ केजी दाल, एक प्याकेट नुन, आधा लिटर खाने तेल, १ केजी चिउरा र २ वटा सावुन वितरण गर्दैछ ।
३ वा ३ जनाभन्दा बढी सदस्य भएका परिवारलाई ललितपुरमा १० केजी चामल, २ केजी दाल, एक प्याकेट नुन, आधा लिटर खाने तेल, १.५ केजी चिउरा र ३ वटा साबुन वितरण गर्ने तयारी गरेको छ ।
‘सरकारले भनेजति राहत बाँड्न त ५० करोड खर्च हुने देखियो,’ प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, ‘त्यसैले व्यवहारिक हुने गरी राहत प्याक बनाउँदैछौं ।