डब्लू एच ओ द्धारा विश्वका राजनीतिक प्रमुख नेतालाई कोरोनाको महामारीलाई राजनीति नगर्न आग्रह

कदर समाचार
२७ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेको छ । हिजो बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले बुधबार अमेरिका र चीनलाई यो महामारीमा कुशल नेतृत्व दिन आग्रह गरेका हुन् ।
सीएनबीसीका अनुसार उनले यो महामारीलाई राजनीतिकरण गरे अझै धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी पनि दिए । यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन केन्द्रित भएको भन्दै डब्ल्यूएचओको आलोचना गरेका थिए । उनले डब्ल्यूएचओलाई दिँदै आएको कोष पनि रोक्ने चेतावनी दिएका थिए ।
बुधबार डब्ल्यूएचओको घेब्रेससले विश्वभरका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने बताएका हुन् । उनले धेरै मानिसलाई मृत्युबाट बचाउने हो भने यो विषयमा राजनीति गर्न नहुने बताए । एकता नदेखाउने हो भने विकसित मुलुकले भनै अझै धेरै समस्या र संकटको सामना गर्नुपर्ने उनको भनाइ थियो । उनले आफूमाथि पछिल्लो दुईरतीन महिनाभन्दा लामो समयदेखि व्यक्तिगत रुपमा विभिन्न किसिमको आलोचना र आरोप लागिरहेको बताउँदै आफूले कहिल्यै पनि यसको वास्ता नगर्ने उल्लेख गरे ।
जनवरीको मध्यमा डब्ल्यूएचओले कोरोना भाइरसबारे विश्व समुदायलाई सचेत गराएको थियो । जनवरी ३० मा डब्ल्यूएचओले यस विषयलाई लिएर स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । जतिबेला यो भाइरस १८ मुलुकमा फैलिएको थियो र संक्रमितको संख्या पनि केवल आठ हजार दुई सय मात्र थियो । अहिले यो भाइरसका संक्रमितको संख्या १५ लाख नाघिसकेको छ भने ८८ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको
छ ।