कोरोना संक्रमणबाट बाँकेमा ६ जनाको मृत्यु

१० जेठ, काठमाडौं । बाँकेमा उपचारका लागि आएका बर्दिया र दाङका छ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दियाका चारजना र दाङका दुईजना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेको यो संख्या हिजो साँझ ६ः३० देखि आज बिहान ९ः३० बजेसम्मको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ४१ वर्षीय पुरुषको भेरी अस्पतालमा हिजो साँझ ६ः३० बजे मृत्यु भएको हो ।
बर्दियाकै बासगढी नगरपालिका–६ का ५५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै आज बिहान १ बजे मृत्यु भएको हो ।

बर्दियाकै गुलरीय नगरपालिका–१२ का ५५ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आज बिहान १ः१५ बजे मृत्यु भएको हो ।

बर्दियाकै बढैयाताल गाउँपालिका–२ की ७० वर्षीया महिलाको भेरी अस्पतालमा आज बिहान ९ः३० बजे मृत्यु भएको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ७१ वर्षीय पुरुषको भेरी अस्पतालमा हिजो राति ८ः४० बजे र लमही नगरपालिका–४ का ४३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा हिजो राति १२ः४५ बजे मृत्यु भएको उनले बताए । दुवैजनामा जेठ २ गते संक्रमण पुष्टि भएको हो ।