के नागरिकता अध्यादेशमा : आमाको नामबाट मात्र वंशजको नागरिकता पाउन बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने

९ जेठ, काठमाडौं । सरकारले नागरिकता ऐन–२०६३ संशोधन गर्न जारी गरेको अध्यादेशमा आमाको नामबाट मात्र वंशजको नागरिकता पाउन बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने उल्लेख छ ।

’नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा, निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निजले वा निजका आमाले गरेको तोकिए बमोजिमको स्वघोषणा गरे’ आमाको नामबाट वंशजकै नागरिकता पाउने अध्यादेशमा भनिएको छ ।

तर त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको प्रमाण देखाएर निवेदकले नै बावुको पहिचान नभएको स्वघोषणा संलग्न गरे पनि उसले वंशजको आधारमा नागरिकता पाउनेछ ।

यो व्यवस्था संसदको राज्यव्यवस्था समितिले छलफल गरेर टुंग्याएको नागरिकता सम्बन्धी विधेयककै व्यवस्था हो । समितिले टुंगाएर संसदमा पेश गरेको विधेयकमा ’तोकिएबमोजिमको’ भन्ने शब्दावली नरहेको एक सांसदले बताए ।

यो व्यवस्थाले आमाको नामबाट नागरिकता पाउन बाबुको पहिचान अनिवार्य गर्छ र यसले महिलाको नागरिकको स्वतन्त्र हैसियत नकार्छ भनेर महिला सांसद तथा महिला अधिकारकर्मीहरूले विरोध गर्दै आएका छन् ।

संविधानले आमा वा बाबुको नामबाट नागरिकता दिने उल्लेख गरेको छ । त्यसैले जसरी बाबुले आफ्ना सन्तानलाई आफ्नो नामबाट मात्र नागरिकता दिलाउन सक्छन् ।
अहिले आएको अध्यादेशले आमाको नामबाट वंशजको नागरिकता दिन तीनवटा सर्त तोकेको छ ।

पहिलो, नेपालमै जन्म भएको हुनुपपर्यो ।

दोस्रो, नेपालमै बसोबास गरेको हुनुपर्छ ।

तेस्रो, बाबुको पहिचान नभएको हुनुपर्छ ।

यी सर्त पूरा भए पनि सरकारले तोकेको भाषामा स्वघोषणा गर्नुपर्ने हुन्छ । अब स्वघोषणा कस्तो हुनुपर्छ भनेर सरकारले बनाउने नागरिकता सम्बन्धी नियमावली वा निर्देशिकामा तोकिने छ ।

बाबुको पहिचान नभएको भन्दै गरेको स्वघोषणा गलत ठहरिएमा त्यस्ता व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्मको कैद सजाय वा एक लाखदेखि तीन लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने अध्यादेशमा उल्लेख छ । झुटो स्वघोषणाबाट नागरिकता लिइएको ठहरे रद्द हुने व्यवस्था अध्यादेशमा छ ।

यसरी आमाको नामबाट नागरिकता लिएको व्यक्ति पछि विदेशी बाबुको सन्तान ठहरियो भने उसको वंशजको नागरिकता रद्द हुने व्यवस्था पनि अध्यादेशमा गरिएको छ । त्यस्ता व्यक्तिले बाबुको देशको नागरिकता नलिएको भनेर तोकिए बमोजिमको स्वघोषणा गरे अंगीकृत नागरिकता पाउने अध्यादेशमा उल्लेख छ ।

तर नेपाली बाबु र विदेशी आमाबाट जन्मेको सन्तानले वंशजको नागरिकता पाउँछन्। यो संविधानकै व्यवस्था हो ।