पार्टीको निर्णय अधिकार उपेन्द्र यादवलाई मात्र : पार्टीका कुनै पनि सदस्य सरकारमा सहभागी भए स्वतः निष्कासित हुने

९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) ले पार्टीका कुनै पनि सदस्य सरकारमा सहभागी भए पार्टीबाट स्वतः निष्कासित हुने निर्णय गरेको छ । सो पार्टीका प्रचार–प्रसार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी गरिएको विज्ञप्तिअनुसार पार्टी विरोधी गतिविधिमा संलग्नताबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ ।

पार्टीको आज बसेको कार्यकारिणी समितिको बैठकले जसपाको नीति, सिद्धान्त, विचार, एजेण्डा, विधान र कार्यदिशा विपरित कार्य गर्दै गराउँदै हिँडेका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले पार्टीको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय समेत गरेको विज्ञप्तिमा जनाइएको छ । कार्यकारिणी समितिले पार्टी संसदीय दलको विधान अनुमोदन नगरेको हुँदा कुनै अमूक व्यक्ति संसदीय दलको नेता भएको अफवाह विल्कुलै झुठो रहेको उल्लेख गर्दै लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य हुने गरी कुनै कार्यदल पार्टीमा नबनाइएको समेत विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।

जेठ ७ गते मध्यरातमा महन्थ ठाकुरले राष्ट्रपतिको कार्यालयमा जनता समाजवादी पार्टीको नामबाट दर्ता गराएको भनिएको पत्र फर्जी भएको र त्यसको कुनै कानुनी तथा वैधानिक हैसियत नहुने समेत बैठकले प्रष्ट पारेको छ । बैठकले अघिल्लो प्रादेशिक तथा स्थानीय निर्वाचनमा पार्टीको टिकट र चुनाव चिन्ह लिइ निर्वाचनमा विजय भइ जनप्रतिनिधि भएका तर यस बीचमा पार्टी परित्याग गरी अन्य पार्टीमा सामेल भएका र पार्टी अनुशासन पालना नगरी पार्टी हित विपरित कार्यहरु गर्नेहरूमाथि प्राप्त सूचनाका आधारमा आवश्यक छानविन गरेर यथोचित कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।