९ जेठ, काठमाडौं । कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको निष्कर्ष । आज बसेको राप्रपाको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले जनताको अभिमत र शक्तिबाटै राजनीतिक कमजोरी र विकृति समाधान गर्न सकिने भए पनि महामारी नियन्त्रण नभएसम्म चुनाव निष्पक्ष र स्वतन्त्र नहुने निश्कर्ष निकालेको हो ।
‘कोरोना महामारीको विषम परिस्थितिमा अहिले देशलाई चुनावमा धकेलिएको छ । यस्तो डरलाग्दो महामारीका बीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न खडा भएको छ । कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निषपक्ष चुनाव हुन सक्दैन’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ ।
राप्रपाले राज्यको सम्पूर्ण शक्ति र स्रोत परिचालन गरी कोरोना महामारी नियन्त्रण गर्न र आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न सरकारसँग माग गरेको नेता मोहन श्रेष्ठले बताए ।
त्यस्तै चुनाव हुने वैधानिक र व्यवहारिक परिस्थिति निर्माण भएमा सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न पनि राप्रपाले माग गरेको छ ।