आगलागीले सप्तरीको डाक्नेश्वरीमा पाँच घर जलेर नष्ट

९ जेठ, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आज दिउँसो भएको आगलागीले पाँच वटा घर जलेर नष्ट भएको छ । आगलागीले २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

नगरपालिकाको वडा नम्बर १० रंजितपुर निवासी भरत चौधरीको परालको थुप्रोबाट एक्कासी आगलागी भएको हो । उक्त आगोले भरतसहित सोही ठाउँका बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी तथा लक्ष्मिकान्त चौधरीको एक÷एक वटा घर पूर्ण रुपमा जलेको छ ।

आगलागीले सबैभन्दा बढी क्षति बन्हु चौधरीको घरमा भएको छ । उनले नयाँ घर निर्माणका लागि राखेको ६ लाख रुपैयाँ नगदसहित सबै सामान जलेको हो ।

यस्तै, आगलागीले शोभाकान्तको एउटा १२५ सिसीको डिस्कोभर मोटरसाइकलसहित घरभित्रका सबै सामान जलेको पीडित चौधरीले बताए ।

उमाकान्तको घरभित्र राखिएका ४ लाख बराबरको सुनको गहन समेत डढेर नष्ट भएको हो । स्थानीय बासिन्दा, प्रहरी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।