Breaking News

सेयर बजारमा नेप्से परिसूचक हालसम्मकै उच्च रेकड

९ जेठ, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचकले हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ । नेप्से परिसूचक आज मध्यान्ह २८ सय २० माथि पुगेर नयाँ रेकर्ड राखेको हो ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले आज नयाँ रेकर्ड कायम भएको पुष्टि गरेका छन् । संसद विघटन भएसँगै अब राजनीतिक अस्थिरता निम्तिएका कारण बजार घट्छ कि भन्ने आकलन गरिएको थियो ।

आज कारोबार खुलेको १० मिनेट नबित्दै करिब ५० अंकले नेप्से परिसूचक घट्यो । त्यसपछि सम्हालिएको परिसूचक कारोबार बन्द हुँदासम्म ३२ दशमलव ८१ अंकले बढेर २ हजार ८ सय २० मा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

२२० कम्पनीको सेयर किनबेच हुँदा कारोबार रकम ११ अबर् ६५ करोड ५८ लाख रूपैयाँ पुगेको छ ।
आज नेप्सेमा कारोबार हुने ३ वटा समूहगत परिसूचकहरु घटेका छन् भने बाँकी सबै समूहगत परिसूचक बढेका छन् । घट्नेमा होटल तथा पर्यटन, निर्जिवन बीमा र लघुवित्त समूह देखिएका छन् ।

सबैभन्दा धेरै बढ्नेमा भने विकास बैंक र फाइएनान्स समूह देखिएको छ । विकास बैंक समूहको सवइन्डेक्स ७ दशमलव ५४ र फाइनान्सको ६ दशमलव ७६ प्रतिशतले बढेको छ ।