प्रतिनिधिसभा बिघठन बिरुद्ध सर्वोच्चमा रिट निवेदन दिन बिपक्षी दलहरु भोलि मात्र जाने

९ जेठ, काठमाडौं । ओली सरकारको सिफारिसमा राष्ट्पति बिद्यादेवी भण्डारीले संसदको बिघठन गरी नयां चुनाव समेत जारी गरेपछि त्यसबिरुद्ध विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा भोलि मात्र रिट दायर गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आज समय अपुग भएकाले भोलि सोमबार विहान १० देखि ११ बजेका बीचमा सर्वोच्च अदालत जाने बताए ।

विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेका हुन् ।

सांसदहरुले व्यक्तिगत रुपमा रिट दायर गर्ने नेता पुनले जानकारी दिए ।

रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ । कांग्रेस नेता रमेश लेखकका अनुसार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस खारेज गरी संसद अधिवेशन बोलाउन अन्तरिम आदेश पनि माग गरिएको लेखकले बताए ।

रिटको मस्यौदा तयार गर्न कांग्रेस नेता लेखक, नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ, कानुन व्यवसायीहरु सतीशकृष्ण खरेल, योगेन्द्र कार्की, गोविन्द बन्दी, मुक्ति प्रधान संलग्न भएका थिए ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा रिटको मस्यौदा तयार गरेपछि संघीय संसद भवन नयाँ वानेश्वरमा आई रिटमा सांसदहरुले हस्ताक्षर गरेका थिए ।