लोकतन्त्र पक्षधर सबै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीलाई संघर्षमा उभिन प्रचण्डको अपील

८ जेठ, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्पतिले हिजो मध्यराती संसदको बिघठन संगै अर्लि चुनावको घोषणा गरेपछि त्यस बिरुद्धमा धारणा राख्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपति मिलेर पुस ४ गतेको प्रतिगामी कदमलाई निरन्तरता दिएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले आज एक विज्ञप्ति जारी गरी यस प्रकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध कानुनी र राजनीतिक सबै प्रकारको संघर्ष गरिने बताएका छन् ।

‘हाम्रो पार्टी राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भइरहेको यस प्रकारको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी एवम् राष्ट्रघाती कदमको विरूद्ध कानुनी र राजनीतिक सबै प्रकारको संघर्ष गर्न प्रतिवद्ध छ ।

उनले यस्तो संघर्षमा उभिन लोकतन्त्र पक्षधर सबै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीलाई अपील गरेका छन् ।

सरकार कोरोना संक्रमणको रोकथाम, नियन्त्रण, एवम् उपचार र असरलाई सम्बोधन गर्न गम्भीर हुनुको सट्टा सत्तास्वार्थमा केन्द्रित भई बाह्य हस्तक्षेपको आमन्त्रण गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।