रातो मछिन्द्रनाथको जात्रा आज समापन, विशेष पूजा गरेर मछिन्द्रनाथलाई बुङ्मती लगियो

५ जेठ, काठमाडौं । लामो जात्राको रुपमा परिचित रातो मछिन्द्रनाथको जात्रा आज समापन गरिएको छ । कोरोना महामारीका कारण धेरै विधि छोट्याएर बुधबार पुल्चोकबाट मछिन्द्रनाथलाई बुंमती लगिएको छ ।

विगतका वर्षमा पाटनका विभिन्न क्षेत्र परिक्रमा गरी जाउलाखेलमा भोटो देखाउने जात्रापछि मछिन्द्रनाथको रथ तानेर बुङ्मती लैजाने गरिन्थ्यो । तर यस वर्ष महामारीका कारण स्थानीय प्रशासन र जात्रा आयोजकबीच भिड नगरी सीमित व्यक्तिको सहभागितामा जात्रा समापन गर्ने सहमति भएको थियो ।

आज विहान पुल्चोकमा रहेको रथमा क्षमा पूजा गरिएको थियो र दिउँसो एक बजे विशेष पूजा गरेर मछिन्द्रनाथलाई खटमा बोकेर बुङ्मती लगिएको हो ।