Breaking News

कांग्रेस संसदीय दलको बैठक आज दिउंसो बस्दै

५ जेठ, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद भवन ल्होत्से हल २ः३० बजे बैठक बस्ने काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले कताएका छन् । खाणका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुने छ ।

छलफलमा कोरोना महामारी, बजेट र नयाँ सत्ता समीकरणका विषयमा छलफल हुने उनको भनाइ छ । ’कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दबाब दिने छदैछ । सरकार संसदबाट भाग्न खोजेका देखिएको छ । बजेटअघि पूरा गर्नुपर्ने संवैधानिक र प्रक्रियागत कामसमेत अघि बढाइएको छैन ।

सरकारले बजेट जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, अहिलेसम्म संसद अधिवेशन नै बोलाएको छैन । बजेट ल्याउनुअघि संसदमा प्रि–बजेट छलफल, नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित हुनै पर्छ । तर, समयमै संसद् अधिवेशन नबसेका कारण प्रि–बजेट छलफलको समय गुज्रिएको छ ।

बजेट ल्याउनु १५ दिनअगावै प्रि–बजेट छलफल सक्नुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था सरकारले लत्याइसकेको छ ।