कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन भयो

नेता, नारायणकाजी श्रेष्ठ

३ वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताएका छन् । विदेशी शक्तिका साथै एकताको मर्म नबुझ्ने प्रवृत्तिले एकतामा भाँजो हालेको उनले बताए ।

एमाले र माओवादी केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्यका साथ पार्टी एकता गरेको भएपनि देशी विदेशी शक्तिको योजनामा फुटाइएको उनले दाबी गरे ।

‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ,’ न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै माओवादी केन्द्रका नेता श्रेष्ठले भने, ‘पार्टी एकता एकचोटी विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति गम्भीर र इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई विभाजनमा पु¥यायो भनेर कम्युनिष्टहरुको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ ।’

वैचारिक राजनीतिक कार्यदिशालाई सही ढंगले प्रष्ट पारेर, सांस्कृतिक रुपान्तरणको अभियान पनि कम्युनिष्ट आन्दोलनमा अगाडि बढाएर जानुपर्छ ।

समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन भएको उनले बताए । यद्यपि कम्युनिष्ट पार्टीहरुबीचको एकीकरण गर्न आफूहरुले हिम्मत नहार्ने माओवादी केन्द्रका नेता श्रेष्ठले बताए ।

‘कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँभित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गर्नुपरेको छ । तर हामी हिम्मत हार्दैनौं,’ उनले भने, ‘कम्युनिष्टहरुले हिम्मत हार्नु हुँदैन । हामीले बाह्य शक्तिहरुको हस्तक्षेपबाट देशको स्वाधीनताको रक्षा गर्ने, प्रतिगमनको दिशातिर देशलाई लैजान नदिने, कम्युनिष्ट आन्दोलनलाई फेरि एकीकरण गर्ने दिशातिर लैजाने तर त्यसको निम्ति पहिला वैचारिक, राजनीतिक लाइनमा प्रष्टता हासिल गर्ने ।