होम आइसोलेशनमा बसेका संक्रमितले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने

प्रधानमन्त्री, केपी शर्मा ओली

१ जेठ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित होम आइसोलेशनमा बस्दा समुदायमा संक्रमण फैलिएको हुन सक्नेसक्ने तर्फ सरकार सचेत रहेको बताएका छन् । उनले होम आइसोलेशनमा बसेका संक्रमितले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालनामा सबैले ध्यान दिनुपर्नेमा समेत जोड दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले करीब ९२ प्रतिशत संक्रमित होम आइसोलेशनमा छन् ।

ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने पनि बताएका छन् ।

हामी कोरोना सामना गर्न सक्षम छौँ, सरकारले थुप्रै विषय कार्यान्वयन गरेको छ, नियन्त्रणका उपाय गर्न तयार र उत्सुक छ, आगामी दिनमा पनि निरन्तर हुन्छ”, उनले भने, “सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैरसरकारी संस्था, गैरआवासीय नेपाली सबैका आआफ्ना ठाउँबाट संगठित प्रयासको खाँचो छ ।”

अक्सिजनको आपूर्ति तथा उपकरणको उपलब्धतामा सबैको जोड हुनुपर्ने बताउँदै उनले अक्सिजन, औषधिलगायत अत्यावश्यक सामग्रीको जोहो गर्न सरकार गम्भीर भएर लाग्ने दृढता व्यक्त गरे । कोरोना नियन्त्रणका लागि सञ्चालनमा ल्याइएका हटलाइन नम्बरमा फोन नउठ्ने गुनासा बाहिर आएकाले समस्या समाधान तत्काल गर्न आवश्यक जनशक्तिको व्यवस्था गर्न उनले निर्देशन दिएका थिए ।

कोरोना संक्रमण बढिरहेका बेला जनतालाई अत्यास लाग्ने अभिव्यक्ति कोही कसैले पनि दिन नहुनेमा जोड दिँदै उनले नागरिकको उपचार सरकारले गर्ने बताए ।

कोरोना नियन्त्रण गर्न सरकारले केही गरेर भनेर भन्नु मूर्खता भएको टिप्पणी गर्दै उनले एउटा पनि कोरोना परीक्षण गर्ने प्रयोगशाला नभएको मुलुकमा अहिले ८० भन्दा बढी प्रयोगशाला स्थापना भएको बताए ।
छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री, सुरक्षा निकायका प्रमुख, विशेषज्ञ चिकित्सक, निजी क्षेत्रका प्रतिनिधिलगायतको उपस्थिति थियो ।