बुटवलमा अक्सिजनको अभावले थप ६ जना कोरोना संक्रमितको मृत्यु

२९ वैशाख,बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालका मेसु डा. राजेन्द्र खनालले अक्सिजनको चरम अभाव भएको जानकारी गराए । ‘दैनिक आपूर्ति हुने करिब २५० सिलिन्डर हो , खपत झन्डै ४ सय सिलिन्डर हुन्छ’ उनले भने, ‘अक्सिजनको चरम अभाव भएको छ ।’

यसैबीच हिजो साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । त्यसमध्ये रुपन्देहीका मात्र ५ जना रहेका छन् । गए रातिबाट आज बिहानसम्म गरी थप ६ संक्रमितको मृत्यु भएको उनले बताए ।

मृत्यु हुनेमा ५ जना पुरुष र एक महिला रहेका छन् । मृत्यु हुनेहरुमा ५७ , ७०, ३५, ३८, ४४ र ५२ वर्षका रहेको छन् । उनीहरूमध्ये ५ जना अस्पतालको इमर्जेन्सी वार्डमा र एक जना एचडीयूमा भर्ना भएका थिए ।