बाँकेमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

२९ वैशाख, काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो ९ बजे रातिदेखि आज बिहान १० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक–एक जना सल्यान र कैलालीका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगन्ज उपमहानगर–१६ का ४९ वर्षीया महिलाको आज बिहान ८ः ३० बजे, बाँकेकै नेपालगन्ज उपमहानगर–५का ४४ वर्षीय पुरूषका आज विहान ६ः ३० बजे मृत्यु भएको छ । यस्तै बाँकेकै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत कोहलपुर नपरपालिका–२ की ३० वर्षीया महिलाको हिजो राति ९ः ३० बजे, बाँकेकै कोहलपुर–१० की ४५ वर्षीया महिलाको आज बिहान १ः ३० बजे, कोहलपुर–११का ४१ वर्षीय पुरूषको आज विहान ४ बजे र कोहलपुर–१४ बाँकेकै ६४ वर्षीया महिलाको आज ५ः३० बजे मृत्यु भएको छ ।
यस्तै भेरीमा अस्पतालमै उपचाररत गुलरिया–९ बर्दियाका ४७ वर्षीया महिलाको आज बिहान ८ बजे, बर्दियाकै मधुबन नगरपालिका–६ का ५५ वर्षीय पुरूषको बुधबार बिहान ८ः ३० बजे र बर्दियाकै बढैयाताल गाउँपालिका ६५ वर्षीय पुरूषको आज बिहान १० बजे मृत्यु भएको छ ।

यस्तै बनगाड कुभिन्डे–६, सल्यानका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा बुधबार ८ः ३० बजे मृत्यु भएको छ भने घोडाघोडी–१ कैलालीका ६० वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा बुधबार विहान ४ः ४५ बजे मृत्यु भएको छ ।

योसँगै बाँकेमा जिल्ला भित्रका २०२ जना र जिल्ला बाहिरका १५३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।