काठमाडौँ । चैत्र महिनाभरी आन्दोलनमय हुने संकेत देखिएको छ । गणतन्त्रवादी र राजावादी शक्तिहरू चैतमा आ–आफ्ना एजेण्डासहित आन्दोलनमा होमिने कसरतमा छन् । ।
गएको फागुन २५ गते पूर्वाराजा ज्ञानेन्द्र शाहको स्वागतमा त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म मानिसको बाक्लो उपस्थितिले झस्किएको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले समाजवादी मोर्चासँग मिलेर चैत १५ गते काठमाडौँमा बृहत् विरोध सभा गर्ने घोषणा गरेको छ ।
माओवादी, नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध चार दलीय मोर्चाको मंगलबार बसेको बैठकले प्रतिगमनविरुद्ध विरोधसभा गर्ने निर्णय गरेको हो । मोर्चाले आज चैत १ गते पत्रकार सम्मेलन गरी आन्दोलनबारे थप जानकारी गराउने तयारी गरेको छ ।
मोर्चाले चैत २ गते बौद्धिक वर्गसँग अन्तक्र्रिया कार्यक्रम राखेको छ । जनताले हटाइसकेको र तिरस्कार गरिसकेको राजतन्त्रलाई पुनर्स्थापित गर्ने षड्यन्त्र भइरहेको निष्कर्ष निकालेको मोर्चाले सदन र सडकबाट प्रतिरोध गर्ने निर्णय गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्रको सक्रियतालाई लिएर पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान स्थगित गरी राजधानी फर्किएको माओवादीले गम्भीर समीक्षा गरेको छ ।
प्रवक्ता तथा नेकपाका नेता खड्गबहादुर विश्वकर्माका अनुसार पछिल्लो समयबारे समीक्षा गरिएको र विषय गम्भीर रहेको निष्कर्ष निकालिएको बताए । उनले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौँमा वृहत् विरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने गरी तयारी गर्ने निर्णय भएको बताए ।
‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौँ । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरू भइरहेका छन् । १५ गतेको वृहत् विरोध प्रदर्शनलाई भव्य बनाउने । हजारौँ जनताको सहभागिता सुनिश्चित गर्ने निर्णय भएको छ ।’
सांसदवादी दलहरू र संसदीय राजनीति भन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढङ्गले छलफल गर्ने निर्णय भएको बताए ।