कालिमाटी फलफूल तथा तरकारी बजारबाट खुद्रा कारोबार बन्द

२८ वैशाख, काठमाडौं । अत्यधिक भिडका कारण कोरोना जोखिम बढेको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजारबाट हुने खुद्रा कारोबार बन्द गरिएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन पछि फलफूल तथा तरकारीको खुद्र्रामा हुने कारोबार निषेधाज्ञा अवधिभर बन्द गर्ने निर्णय भएको बजार विकास समितिले बताएको छ ।

खुद्रामा तरकारी किन्न आउने बहानामा सडकमा मानिसहरुको आवागमन बढेको र बजारमा पनि भिड भएको निष्कर्षपछि खुद्रा कारोबार बन्द गर्ने निर्णय भएको हो ।

बजारमा रहेका स्टलबाट थोक तरकारी तथा फलफूलको कारोबार भने नियमित सञ्चालनमा रहने बताए । ‘बजारमा अब खुद्रा कारोबार निषेध गरिएको छ, होलसेल स्टलले थोकमा गर्ने कारोबार भने नियमित रुपमा गर्न पाउँछन्,’ कार्यकारी निर्देशक भट्टराईले भने ।

देशका बिभिन्न ठाउँका किसानले बारीमा रहेको तरकारी सिधै बिक्री गर्न पाउनेगरी बजारभित्रको ‘अक्सन यार्ड’ भने खुला राखेको समितिले बताएको छ । किसानले आफ्नो उत्पादन उक्त यार्डमा ल्याएर बिक्री गर्न सक्ने कार्यकारी निर्देशक भट्टराईले बताए ।