संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउनु पर्ने माग

शेरबहादुर देउवा

१९ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत लिन बोलाइएको प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका छन् ।

सभापति देउवाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने भएकाले अब संविधानअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

संविधानको धारा ७६ मा सरकार गठनसम्बन्धी व्यवस्था छ। उक्त धाराको उपधारा २मा संसदका दुई वा दुईभन्दा बढी दलले बहुमतको सरकार बनाउन सक्ने व्यवस्था छ ।

संसद बैठक सुरू हुनुअघि सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले विश्वासको मत नपाउने र त्यसपछि आफूहरूले बहुमतको सरकार बनाउने समझदारी गरेका थिए ।