प्रधानमन्त्री ओलीकै कारण अहिलेको अवस्था सिर्जना आएको हो

शेरबहादुर देउवा

१९ वैशाख, काठमाण्डौ । आज बसेको प्रतिनिधिसभाको बिशेष अधिवेशनमा प्रधानमन्त्रीले आफूमाथिको अविश्वासको मतको बिपक्षमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीले अक्सिजन, भेन्टिलेटर, खोपलगायत नपाएर जनता मरिरहेको टुलुटुलु हेर्ने प्रधानमन्त्री देशमा रहनु विडम्बना भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेपछि छलफलमा भाग लिएका देउवाले प्रधानमन्त्री ओलीकै कारण अहिलेको अवस्था सिर्जना भएको बताए ।

‘आफ्ना जनताका लागि अक्सिजन बेड व्यवस्थापन गर्न नसक्ने, जनता मरेको टुलुटुलु हेर्ने प्रधानमन्त्री हुनु विडम्बना हो,’ देउवाले भने ।

देउवाले प्रधानमन्त्री ओलीको दम्भ र अंकगणितीय खेलले अहिलेको अवस्था आएको बताए। तीन वर्षमै प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था अरूका कारण नभई प्रधानमन्त्री आफैँको कारण भएको देउवाको भनाइ छ ।

‘तीन वर्षमै विश्वासको मतका लागि आउनुपरेको छ यो परिस्थितिका लागि प्रधानमन्त्री जिम्मेवार हुनुहुन्छ,’ उनले भने, ‘एमाले र माओवादी मिलेर झण्डै दुई तिहाइको यो सरकार थियो ।

उनले तीन वर्षको मूल्यांकन गर्दा सरकार पूर्ण रूपमा असफल भएको बताए । अरूमाथि दोष थुपारेर प्रधानमन्त्री जिम्मेवारीबाट भाग्न नपाउने उनले बताए । जनताको हितमा सरकारले काम गर्न नसकेको देउवाको आरोप छ ।

कोरोना नियन्त्रण गर्न सरकारले नसकेको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै आँच पुग्ने काम प्रधानमन्त्री ओलीबाट भएको उनले बताए । उनले प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले पुनर्स्थापनासँगै नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा नदिएको उनको भनाइ राखेका थिए ।