पालोदिन स्वास्थ्यकर्मीको अभाव हुदा ९ दिनसम्म २४ घण्टा अस्पतालमा

२७ वैशाख, धादिङ । जिल्ला अस्पताल धादिङमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समस्या आएको छ ।

९ दिनसम्म लगातार २४ घण्टाको डिउटी गर्दा थकित भए पनि काम नरोकेको अस्पतालका स्वास्थ्य सहायक कृष्णलाल उप्रेतीले जानकारी गराए । पालोदिने स्वास्थ्यकर्मी नभएकाले नौ दिनसम्म २४ घण्टा खटिनुपरेको स्वास्थ्य सहायक उप्रेतीको भनाई छ ।

अस्पतालमा हाल दुई स्वास्थ्यकर्मीले नौ दिनदेखि लगातार बिरामीको उपचार गरिरहेका छन् । सङ्क्रमित स्वास्थ्यकर्मीसमेत आइसोलेशनमा भएकाले आइसोलेशनमा भने सङ्क्रमित स्वास्थ्यकर्मीले सेवा दिइरहेको अस्पतालले बताएको छ । यस्तै, आइसोलेशनमा एकजनाको मृत्यु भएको छ ।

अस्पतालबाट सञ्चालित कोभिड–१९ अस्थायी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएको हो । निलकण्ठ नगरपालिका–२ का ७५ वर्षीय वृद्धको मृत्यु भएको हो ।