१० दिनमै खुस्किएको मन्त्री पद

२६ वैशाख, पोखरा । गएको १० दिन अघि गण्डकी प्रदेशको खेलकुद मन्त्री बनेका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद १० दिनमै खुस्किएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज काम गर्ने वातारण नै नभएको भन्दै मुख्यमन्त्री पदबाट आज राजीनामा दिएका थिए ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लो समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेलकुद मन्त्री बनाएका थिए । तर, मुख्यमन्त्री गुरुङले आपूm विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुनुभन्दा अघिल्लो दिन राजीनामा दिएपछि मनाङेको मन्त्री पद १० दिनमै गुमेको हो ।

मनाङे स्वयंले आफू दुइ साता मन्त्री रहने निश्चित हुँदाहुँदै पनि छोटो समयमा सिस्टम बसालेर छाड्नका लागि मन्त्री बनेको प्रतिक्रिया दिएका थिए । मन्त्री बनेको १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि उनी पनि काम चलाउ भएका छन् । मनाङेले आफ्नो जिल्लावासीको आग्रहअनुसार मुख्यमन्त्री गुरुङलाई रोज्नुपर्ने बाध्यता भएको बताउँदै आएका थिए । उनले अब सत्तापक्षीय एमालेलाई दिएको साथ कायम राख्छन् वा नयाँ सरकार बनाउने दललाई समर्थन गर्छन् हेर्न बाँकी छ ।