बूढानीलकण्ठ पछि सिधै बालुवाटार

२६ वैशाख, काठमाडौं । जसपा नेपाल का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ले बिहान काँग्रेस सभापति शेरबहादुर देउवासंग करिब डेढ घन्टा लामो छलफल पछि दुबै नेता सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार छिरेका छन् ।

ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने–नदिनेबारे कुनै पनि औपचारिक निर्णय नगरेको जानकारी काँग्रेस सभापति देउवालाई दिएका छन् । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रम ओलीविरुद्ध काँग्रेस र माओवादीसँग गठबन्धन बनाइरहेको बेला ठाकुर बूढानीलकण्ठ पुगेर काँग्रेस सभापतिलाई सो सन्देश दिएका हुन् ।

स्रोतका अनुसार अर्का नेता महतोसँगै बूढानीलकण्ठ पुगेका ठाकुरले देउवासँग विश्वासको मतबारे काँग्रेसको आधिकारिक धारणाबारे प्रश्न गरेका थिए । जवाफमा देउवाले आफ्नो पार्टीले प्रधानमन्त्री ओलीको विपक्षमा मत हाल्ने यसअघि नै निर्णय गरिसकेको बताएका थिए ।

ठाकुरले भने विश्वासको मतबारे आफ्नो पार्टीले कुनै निर्णय गरिनसकेको र सम्भवतः आजसम्ममा यसबारे औपचारिक निर्णय गर्ने देउवालाई जानकारी दिएका थिए ।