कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो एक बजे बस्दै

२६ वैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक दिउँसो एक बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ ।

समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे बोलाइएको विशेष अधिवेशनको तयारी र सम्भावित कार्यसूचीबारे छलफल हुने संसद सचिवालयले बताएका छन् ।

सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘स्वास्थ्य सुरक्षाको हिसाबले बैठकलाई कसरी व्यवस्थित बनाउने, संक्रमित सांसदहरुलाई कसरी ल्याउने–लैजाने व्यवस्था मिलाउने, कसरी र कुन ठाउँमा मतदानको व्यवस्था मिलाउने लगायत बैठकका विषयहरु हुन् ।’

संसद सचिवालयले वैशाख २२, २३ र २४ गते गराएको पीसीआर परीक्षणमा २६ जना सांसद र १४१ जना कर्मचारीहरुलाई संक्रमण पुष्टि भएको थियो । दुईजना सांसदहरुको पीसीआर परीक्षण रिपोर्ट भने आउन बाँकी रहेको सचिवालयले जनाएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा वैशाख २७ गते नै विश्वासको मतमा मतदानको मिति कहिले तोक्ने भन्ने विषयमा पनि छलफल हुने जनाएका छन् ।

प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्री केपी शर्मा ओलीले १३६ सांसदको समर्थन लिनुपर्छ । २७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । यद्यपि एमालेको माधव–झलनाथ पक्षका सांसदहरुले ओलीलाई मत नदिने संकेत देखिएको छ ।