Breaking News

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरमा संवैधानिक परिषदको बैठक बस्दै

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक राखेका छन् ।

अहिले बिहान ९ बजेका लागि प्रधानमन्त्री ओलीले बालुवाटारमा संवैधानिक परिषद बैठक राखेका हुन् ।

लोक सेवा आयोगलगायतमा रिक्त रहेका पद तथा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री ओलीले परिषदको बैठक राखेको स्रोतको भनाइ छ ।

तर बैठकका एजेन्डा बाहिर आइसकेको छैन । परिषद सदस्यहरूलाई पनि एजेन्डाबारे जानकारी दिइएको छैन ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नहुने भएका छन् ।

साथै प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि बैठकमा नजाने भएका छन् ।

कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याएकोमा विमति जनाइरहेको छ ।

सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताविनै बैठक बस्न सक्ने गरी गत वैशाख २१ मा सरकारले अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश सरकारले गत मंसिर ३० मा पनि ल्याएको थियो ।

साथै एमाले नेता माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि संवैधानिक परिषद बैठक बोलाइएकोमा आपत्ति जनाएका छन् ।