जसपा को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्ना सांसद र कार्यकारिणी समिति सदस्यहरुको हस्ताक्षर संकलन

२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री ओलीले आउंदो बैशाख २७ गते संसदमा विश्वासको मत लिने भएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्ना सांसद र कार्यकारिणी समिति सदस्यहरुको हस्ताक्षर संकलन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा गरिएको हस्ताक्षर संकलनलाई अर्थपूर्ण ठानिएको छ ।
खाली कागजमा सांसद र कार्यकारिणी समिति सदस्यहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन गरिएको छ ।

जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय छ । त्यसमध्ये २८ जना उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षतिर देखिएका सो पार्टीका नेताहरु बताउँछन् । यादव र भट्टराई पक्षले यसअघि नै आफू निकटका नेताहरुको हस्ताक्षर संकलन गरिसकेको छ ।

यसैगरी जसपाका ३४ जना सांसदहरुमध्ये दुईजना निलम्बनमा परेपछि हाल ३२ सांसद छन् ।

सत्ता समीकरणका विषयमा जसपामा दुई धार छ । ठाकुर र महतो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका छन् भने यादव र भट्टराई ओलीको विकल्पमा नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरेकी छन् ।