Breaking News

कोरोना संक्रमणका कारण मोरङ र सुनसरीमा थप ६ जनाको मृत्यु

२१ वैशाख, विराटनगर । मोरङ र सुनसरीमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा चारजना तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होम आइसोलेसनमा एक–एक जनाको मृत्यु भएको हो ।

नोबेलमा विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्धको बिहान २ बजे मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई हिजो नोबेल अस्पताल भर्ना भएको हो ।
इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि मृत्यु भएको हो । परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि गत वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान ४ः१५ बजे मृत्यु भएको हो ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्ध महिलाको नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित उनलाई हिजो अस्पताल भर्ना गरिएको थियो ।
यसैगरी सप्तरी हनुमाननगर–कङ्कालीनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ५ः४५ बजे मृत्यु भएको छ । उनको नोबेलमै उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै मोरङको बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको भने होम आइसोलेसनमा मृत्यु भएको छ । पूर्वप्रहरी सहायक निरीक्षक (असइ) रहेका उनको बिहान ४ बजे मृत्यु भएको हो । नोबेल अस्पतालमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमा लगेर राखिएको थियो ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका ५० वर्षीय पुरुषको मृत्यु भएको छ । सप्तकोसी–१ सप्तरीका पुरुषमा वैशाख १३ गते कोरोना पोजेटिभ देखिएको हो । प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान सवा ५ बजे मृत्यु भएको हो ।