२१ वैशाख, काठमाडौं । कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार बिहान ६ बजेदेखि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । वैशाख ३१ गतेसम्मका लागि जारी निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ ।
त्यस्तै, नवलपरासी (बर्दघाट–सूस्तापूर्व)मा आज मध्यरातबाट निषेधाज्ञा जारी गरिने भएको छ । जिल्लामा ३०० भन्दा बढी सङ्क्रमित पुगेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा लागू गर्ने भएको हो । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले नवलपुरमा वैशाख २१ गते राति १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्म १५ दिन निषेधाज्ञा जारी गर्न सिफारिस गरेको हो । सोमबार मात्रै जिल्लामा ७७ नयाँ सङ्क्रमित फेला परेका छन् । योसहित नवलपुरमा कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ३४६ पुगेको छ ।
दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको निधन भएको छ भने नयाँ सङ्क्रमणको लहरपछि सङ्क्रमित भएकामध्ये २७ जना निको भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
हुम्ला जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले आज राति १२ बजेदेखि २८ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । सोमबार बसेको जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले आदेशको पालना गर्न जिल्लाभरका सबैमा आग्रह गरेका छन् ।
निषेधाज्ञाको समयमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ । जिल्लाका स्थानीय तह, राजनीतिक दल र अन्य सरोकारवाला निकायको प्रतिनिधित्वमा बसेको बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जलाउन हरेक गाउँपालिकामा सद्गदस्थलको छनोट गर्न सम्बन्धित गाउँपालिकालाई दुई दिनको समय दिने निर्णय गरेको छ ।
आजबाट हवाई यातायात सेवासमेत बन्द हुने भएको छ भने जिल्लाको दक्षिणी क्षेत्रमा रहेका मुख्य नाका कवाडी, बालुकुना र चङ्खेली नाकासमेत शिल गरिएको छ । एक हप्ताको निषेधाज्ञा अवधिमा एक पालिकाबाट अर्को पालिकामा आवतजावतसमेत बन्द गरिएको छ । सोमबार बिहान नेपालगञ्ज हुँदै हुम्ला पुगेका ४० जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा आठ जनामा कोरोना देखिएको थियो ।