कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएका परिवारले राहत पाउने

२० वैशाख, सुर्खेत । कर्णाली प्रदेशका कोभिड–१९ बाट मृत्यु भएका परिवारले राहत पाउने भएका छन् । कर्णाली प्रदेशको वैशाख १७ गते बसेको मन्त्रिपरिषदको वैठकले कोभिडबाट मृत्यु भएका परिवारलाई प्रतिमृतक एक लाख रुपैयाँ दिने निर्ण गरेको हो ।

सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर कोभिडबाट मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला मन्त्री विमला केसीले जानकारी दिईन् ।

यस्तै कर्णाली प्रदेशको जिल्लाका अस्पताललाई कोभिड–१९ नियन्त्रणका लागि बजेट दिने निर्णय मन्त्रिपरिषदले गरेको छ । एक जिल्लामा एक करोड रूपैयाँका दरले बजेट दिईने मन्त्री केसीले जानकारी दिईन् ।

यस्तै कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चौरजहारी अस्पतालमा एक÷एक करोड, मेहलकुना अस्पताल र दैलेख जिल्ला अस्पतालमा ५०÷५० लाख रुपैयाँ तत्काल प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउन लागिएको छ ।

यो रकमबाट कोभिड–१९ सँग सम्बन्धित समस्या समाधानका लागि अत्यावश्यक सामग्रीहरु खरिद् गरिनेछ ।

कोभिड–१९ सँग सम्बन्धित समस्या समाधानका लागि हाललाई ५० करोड रुपैयाँ प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको छ ।

कोभिड–१९ रोकथाम, व्यवस्थापन गर्न आपसी समन्वय, सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले मुख्यमन्त्रीको संयोजकत्वमा सर्वदलीय संयन्त्र बनाएर परिचालन गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।