प्रत्येक २० मिनेटमा एउटा मात्र उडानको कोटा तय

१९ वैशाख, काठमाण्डौ । पछिल्लो चरणमा काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका संक्रमित थपिन थालेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रत्येक २० मिनेटमा एक मात्र उडान गर्ने गरी कोटा तय गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकहरुबीच आज भएको छलफलबाट उडान सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी २० मिनेटमा एउटा उडान गर्ने सहमति भएको हो ।

यसअनुसार अब दैनिक ३५ वटा उडान मात्र त्रिभुवन विमानस्थलबाट हुने भएको छ । प्राधिकरण स्रोतका अनुसार नयाँ कोटा प्रणाली अनुसार बुद्धले दैनिक १८ वटा मात्र उडान गर्ने गरि पालो पाएको छ ।

यति एयरलाइन्सको भागमा १० वटा उडान परेको छ । श्री एयरलाइन्सले ५ उडान गर्ने गरी कोटा पाएको छ । दूर्गम भेगका लागि २ वटा उडान तोकिएको छ । त्रिभुवन विमानस्थलबाट उडान संख्याको कोटा तोकिएसँगै वायुसेवा कम्पनीले सोमबारका लागि निर्धारित कतिपय उडान रद्द गरेका छन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार काठमाडौंबाट तुम्लिङटारका लागि हुने उडान रद्द भएको छ । सोमबार नेपालगन्जका लागि निधारित उडान समेत रद्द भएको छ ।

हवाई उडानबारे नेपाल सरकारको अर्को निर्णय नआएसम्म प्राधिकरणको कोटा लागु हुने भएको हो । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई उडान समेत रोक्न सिफारिस गरेको छ ।