मुख्यमन्त्री पोखरेललाई नै बनाउने एमाले संसदीय दलको निर्णय

१९ वैशाख, काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको हो ।
दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको प्रदेश सभा सदस्य विष्णु पन्थीले जानकारी गरे ।
दलको बैठक बसेर नयाँ सरकार फेरि शंकर पोखरेलकै नेतृत्वमा बनाउने निर्णय गरेको छ । पोखरेलले आजै दिएको राजीनामा स्वीकृत भइसकेको छ ।
८१ सदस्यीय प्रदेशसभामा एमालेसँग ४१ सांसद छन् । एमाले बाहेक विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव माथि आजबाट छलफल गर्ने कार्यसूची तय भएको छ ।
त्यसअघि नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिए । यो प्रदेशमा नेकपा माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टीले चार सांसद निस्कासित गरेको फाइदा मुख्यमन्त्री पोखरेलले उठाएका छन् । आज बसेको दलको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु पनि सहभागी रहेको थियो ।