बाँकेका थप ४ जना कोरोना संक्रमितको मृत्यु

१९ वैशाख, काठमाडौं । बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २७ देखि ५५ वर्षसम्मका ३ पुरुष र एक महिलाको हिजो मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थिए भने एक जना आइसोलेसन सेन्टरमा थिए ।

मृत्यु हुनेमा राजापुर नगरपालिका २ बर्दियाका २७ वर्षीय पुरुष छन् । वैशाख १७ गते गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका उनलाई १८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । उनको १८ गते साढे ५ बजे मृत्यु भएको अस्पतालले बताएका छन् ।

नेपालगञ्ज मेडिकल कलेजमा नै बैजनाथ गाउँपालिका २ बाँकेका ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियोे । उनको हिजो साँझ ६ बजे मृत्यु भएको हो ।
यसबाहेक मृत्यु हुनेमा खजुरा गाउँपालिका ३ बाँकेका ५५ वर्षीय पुरुष र कोहलपुर नगरपालिका ११ बाँकेका ४० वर्षीया एक महिला रहेकी छन् ।