१६ वैशाख, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ । बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको जानकारी गराए ।
५८ वर्षीय पुरुषमा वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा हिजो राति ८ः५५ बजे मृत्यु भएको हो ।
यसैगरी ४३ वर्षीया महिलाको हिजो संक्रमण पुष्टि भएकोमा उपचारको क्रममा सोही दिन राति ९ बजे मृत्यु भएको हो ।
यसैगरी भेरी अस्पताल नेपालगञ्जमा खजुरा गाउँपालिका–२ बाँकेकी ६७ वर्षीया महिलाको बिहीबार विहान ८ बजे मृत्यु भएको हो । यही वैशाख १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएको हो र १२ गते अस्पताल भर्ना भएका थियो । उनको मृत्युसँगै कोरोनाबाट बाँकेमा ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ ।
भेरी अस्पतालमै कैलालीको लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय पुरुषको पनि आज बिहान ७ः५० बजे मृत्यु भएको छ ।
नेपालगञ्जका ६० वर्षीय पुरुषको वैशाख ६ गते संक्रमण पुष्टि भएकोमा बुधबार मात्रै भेरी अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएकै दिन बुधबार राति ९ बजे उनको मृत्यु भएको हो ।
बाँकेकै ४२ वर्षीय पुरुषमा वैशाख १० गते संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पतालमा भर्ना भएका थिए । हिजो राति १० बजे उनको मृत्यु भएको हो ।
बाँकेकै ५५ वर्षीय पुरुषको वैशाख १० गते नेपालगञ्ज मेडिकल कलेजमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएसँगै नेपालगञ्ज मेडिकल कलेजमा उनलाई भर्ना गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई हिजो भेरी अस्पतालमा लगिएको थियो उनको हिजो बिहान ५ः३० बजे मृत्यु भएको हो ।
बर्दियाका ३२ वर्षीय पुरुषको वैशाख ९ गते गरिएको पीसीआर परीक्षणमा संक्रमण देखिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार भेरी अस्पतालमा भर्ना भएका उनको बिहीबार बिहान १ः३० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले बताए । बर्दियाका ३२ वर्षीय पुरुषको मृत्यु भएसँगै उपचारका लागि बाँकेका बिभिन्न अस्पतालमा आएका बाहिरी जिल्लाका १०९ जनाको मृत्यु भएको छ ।