बालुवाटार बैठकबाट माधव नेपाल सहित १० जना नेता तथा सांसदलाई २ दिने चेतावनी स्पष्टीकरण

६ वैशाख, काठमाण्डौ । नेकपा एमालेको अध्यक्ष ओली पक्षीय महाधिवेशन आयोजक कमिटीको बैठकले नेता माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र कर्णालीमा पाँच सांसदलाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा बसेको महाधिवेशन आयोजक कमिटी बैठकले कर्णालीमा ’फ्लोर क्रस’ गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा, कुर्मराज शाही र देवी ओलीसहित थप २० जनालाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारबाही गर्ने बताइएको छ । कानूनबमोजिम मनासिव माफिकको सफाइ पेस गर्ने मौका दिइएको हो ।

यस्तै बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णयसमेत गरेको छ ।

तत्कालीन नेकपा विभाजनको बेला केपी ओलीपक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनीत भएका सबै केन्द्रीय सदस्यहरू अब नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले पुस ७ गते तत्कालीन नेकपा केन्द्रीय कमिटीमा मनोनित भएका ११ सयभन्दा बढी नयाँ सदस्यहरूलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरित गरेको हो ।

पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गते बालुवाटारमा बसेको ओली अध्यक्षताको बैठकले ४४१ सदस्यीय नेकपा केन्द्रीय कमिटीमा नयाँ सदस्य थप गरी ११ सय ९९ सदस्य कामय गरेको थियो ।

यो परिषदले विधान संशोधन लगायतका निर्णय गर्न पाउँछ ।