गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ आवहन

६ वैशाख, पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गतेदेखि शुरु हुने भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाएका हुन् ।

अविश्वासको प्रस्ताव आउने थाहा पाएपछि प्रदेश सरकारले १ गते बुधबार राति नै अधिवेशन अन्त्य गर्ने निर्णय गरेको
थियो । त्यसका बाबजुद तीन दलले वैशाख २ गते मुख्यमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । लगत्तै प्रदेश प्रमुखको कार्यालयमा पुगेर विशेष अधिवेशनका लागि समावेदन दिएका थिए ।

प्रदेश प्रमुख शेरचनले वैशाख १३ गते २ बजे विशेष अधिवेशन बोलाउँदै प्रदेशसभा सचिवालयमा पत्र पठाएका हुन् ।

संविधानको धारा १८३ को ३ मा प्रदेशका एक चौथाइ सांसदले विशेष अधिवेशन माग गर्ने व्यवस्था छ । विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसँग निवेदन दिए त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति प्रदेश प्रमुखले तोक्ने व्यवस्था छ ।

नियमित संसद बैठक डाक्न मन्त्रिपरिषदले निर्णय गरेर पठाएपछि प्रदेश प्रमुखले डाक्ने प्रावधान छ । विशेष अधिवेशन प्रदेश प्रमुख आफैंले बोलाउन सक्छन् । प्रदेश प्रमुखले १५ दिनभित्र विशेष अधिवेशन बोलाउने संसदीय अभ्यास छ ।

विशेष अधिवेशन बोलाएको प्रदेश प्रमुखको पत्र अपरान्ह ४ः५५ मा प्रदेशसभा सचिवालयमा आइपुगेको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

यो अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव एजेण्डा बन्नेछ । कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन् । तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले पनि समर्थन गर्ने अविश्वासको प्रस्तावमा मत दिने बताएको छ ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री गुरुङले नेतृत्व गरेको एमालेका २७ प्रदेशसभा सदस्य छन् । कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, जसपाका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्य छन् ।